नि:सन्तान उपचारका विकल्पहरु
निसन्तान जीवनको एक निकै कष्टकर घडी हो र निसन्तानको समस्या जो कोहीलाई पनि हुन सक्छ। यो समस्या देखिनुमा हाम्रो दैनिक जीवनशैली, खानपिन र मानसिक स्वास्थ्यले प्रभाव पार्दछ। आजभोलि बढिरहेको अवस्थ खानपिनको सेवन, तनावपूर्ण जीवनशैली, प्रदूषण साथै लागु पदार्थको सेवनले गर्दा यो समस्या जताततै व्याप्त छ। तर समस्या देखिएको खण्डमा आत्तिहाल्नुपर्ने आवश्यकता छैन किनकि आजको औषधोपचार र तीव्र प्राविधिक विकासले निसन्तान समस्याको निदान, सही उपचार र सफल गर्भ अवधि सुनिश्चित गर्न सकिन्छ।
निसन्तान उपचारमा मुख्यत: औषधोपचार, सर्जिकल प्रक्रिया र सहयोगी गर्भाधान समावेश छ। कुन दम्पतीमा कुन प्रक्रिया लागु गर्न उत्तम हुन्छ भन्ने कुरा निसन्तान उपचार केन्द्रमा गरिएको परीक्षणको आधारमा तय गरिन्छ। तर सबै दम्पतीहरूको प्रजनन् समस्या एउटै नहुने भएकाले निसन्तान उपचार प्रक्रिया पनि फरक फरक हुन आउँछ।
औषधोपचार:
यो प्रक्रिया विशेषत: शरीरमा हर्मोनल गडबडी भएको खण्डमा बढी प्राथमिकतामा राखिन्छ। शरीरमा हर्मोनल अपर्याप्तताको उपचार गर्न सही मात्रामा औषधि खुवाउने वा इन्जेक्सन मार्फत रगतमा औषधिको सञ्चार गरिन्छ। यति मात्र नभई महिलाको अण्डाको विकास हुन नसकेको वा आंशिक रूपमा मात्र विकास भएको खण्डमा पनि रगतमा हर्मोनको सही मात्रा मिलाउन औषधोपचारको खाँचो पर्दछ। नियमित महिनावारी नहुनाले महिलाको Ovulation प्रक्रियालाई असर गर्दछ, जसले गर्दा अण्डाशयमा अण्डाको उचित विकास हुन सक्दैन। Follicle Stimulating Hormone वा Gonadotropins को कमी भएको महिलामा रगतमा उक्त हर्मोनको मात्रा बढाउँदा यसले Ovarian Stimulation को काम गर्दछ जसले अण्डाको पूर्ण विकास गर्न र एकै पटकमा धेरै अण्डाहरूको विकास गर्न सहयोग गर्दछ। PCOS (Polycystic Ovary Syndrome) को समस्या भएका महिलाहरूलाई यो उपचार पद्धतिले सहयोग गर्छ। पुरुषहरूमा शुक्राणुको कम उत्पादन भएको खण्डमा शुक्राणुको उत्पादन बढाउन पनि औषधिको प्रयोग गर्न सकिन्छ।
हर्मोनल औषधोपचार गर्दा टाउको दुख्ने, रिंगटा लाग्ने वा वाकवाकी हुने जस्ता Side Effects देखिन सक्छ। यो Side Effect रगतमा अलिकति बढी हर्मोनको मात्रा बढ्नाले हुन्छ र त्यो दीर्घकालीन हुँदैन।
सर्जिकल प्रक्रिया:
यो प्रक्रियाअन्तर्गत प्रजनन प्रणालीको कुनै अङ्ग वा भागमा भएको समस्यालाई सर्जिकल विधिले ठिक पारिन्छ। यहाँ धेरै प्रकारका सर्जिकल प्रक्रियाहरू छन् जसको मद्दतले प्रजनन क्षमतामा समस्या भएका दम्पतीले सन्तान प्राप्तिको बाधालाई पार गर्न सक्छन्:
१) Fallopian Tube को सर्जरी:
यो सर्जरी महिलाको Fallopian Tube हरू बन्द भएको वा आंशिक रूपमा अवरुद्ध भएको खण्डमा आवश्यक पर्दछ। उक्त शल्यक्रियाको मद्दतले महिलाको Fallopian Tube मा भएका दाग वा Tube लाई बन्द गरेको तन्तुलाई हटाइन्छ। शल्यक्रियापछि अण्डाहरू Tube बाट सजिलै पाठेघरसम्म पुग्न सक्छन् र अन्तत: महिलालाई गर्भवती हुन कुनै अवरोध आउँदैन।
यो शल्यक्रियाको सफलता महिला प्रजनन् प्रणालीको Fallopian Tube मा कति अवरोध छ, त्यसमा भर पर्दछ।
२) Laparoscopy सर्जिकल विधि:
यो सर्जिकल विधि महिलाको शरीरमा Endometriosis को समस्या देखिँदा मात्र गरिन्छ। Endometriosis को समस्या पाठेघरको Lining को भागहरू पाठेघरभन्दा बाहिर बढ्न थालेपछि हुन्छ। Laparoscopy शल्यक्रियामा Cyst भनिने तरल पदार्थले भरिएको थैलीलाई हटाइन्छ वा नष्ट गरिन्छ। यो शल्यक्रिया विधि पाठेघरमा हुने Fibroids का ससाना तन्तुहरू हटाउन पनि प्रयोग गरिन्छ। PCOS को समस्या भएका महिलाहरूमा औषधोपचारले निसन्तानको समस्या निको नभएको खण्डमा यो शल्यक्रिया गरिन्छ।
३) Epididymal Blockage खोल्ने सर्जरी:
Epididymis अण्डकोषमा रहेको संरचना हो जसले शुक्राणुलाई भण्डारन गर्न र तैरिन मद्दत गर्दछ। कहिलेकाहीँ Epididymal Blockage हुँदा शुक्रकीट सामान्य रूपमा स्खलित हुन सक्दैन र यदि यसले बाँझोपन निम्त्याउदै छ भने उक्त Blockage खोल्नको लागि शल्यक्रिया गर्न आवश्यक छ।
निम्न अवस्थाहरूमा यो सर्जरी गर्न आवश्यक पर्दछ:
• शुक्राणु स्खलित हुन नसक्नु
• पुरुषमा जन्मजात नै अण्डकोषबाट शुक्राणु निकासी गर्ने ट्युब नहुनु
• पहिले Vasectomy गरेको वा Vasectomy Reversal असफल भएको खण्डमा
यो शल्यक्रियामा Local Anaesthesia को प्रयोग गरिन्छ र यो केही घण्टाको मात्र हुन्छ। शल्यक्रिया गरेकै दिन तन्तु र शुक्राणुको गुणस्तरको बारेमा थाहा पाउन सकिन्छ।
८५ देखि ९० प्रतिशत बाँझोपन सम्बन्धी समस्या औषधोपचार वा शल्यक्रियाबाट निको पार्न सकिन्छ।
सहयोगी गर्भाधान (Assisted Conception):
औषधोपचार वा सर्जिकल विधिले निसन्तान समस्याको उपचार गर्न नसकिने वा उपचार असफल भएको खण्डमा यो विधि अपनाइन्छ। यो विधिअन्तर्गत मुख्यत: IUI र IVF पर्दछ।
IUI (Intrauterine Insemination):
IUI कृत्रिम वा सहयोगी गर्भाधानको एक प्रक्रिया हो। यो प्रक्रिया पुरुषको शुक्रकीटको घनत्व र गतिशीलता कम भएको वा महिलाको शरीरको रक्षा प्रणाली (Defence Mechanism) आवश्यकता भन्दा बलियो भएको खण्डमा गरिन्छ। यो प्रक्रिया अन्तर्गत पातलो प्लास्टिकको नली मार्फत् गर्भाशयमा शुक्रकीट पठाइन्छ। शुक्रकीटलाई पहिले जम्मा गरी तरल पदार्थमा धोइन्छ अनि उत्कृष्ट शुक्राणुका नमुनाहरू चयन गरी महिलाको पाठेघरमा पठाइन्छ। जसले गर्दा शुक्राणुको अण्डामा निषेचन हुने सम्भावना बढ्छ।
साधारणतया महिलाको cervix ले योनी र पाठेघरको बीचमा खुल्ने ठाउँ प्रदान गर्छ। Ovulation को समयमा Cervix ले उत्पादन गर्ने Mucus ले शुक्राणुलाई योनीबाट Fallopian Tube तर्फ पठाउन एक मार्गदर्शकको रूपमा काम गर्छ। तर यदि Cervical Mucus धेरै बाक्लो छ भने यसले शुक्राणुको यात्रामा बाधा पुर्याउन सक्छ। पाठेघरले पनि शुक्राणुलाई अण्डासम्म पुग्न बाधा उत्पन्न गर्न सक्छ। IUI प्रक्रियाले शुक्राणुलाई सिधै महिलाको पाठेघरमा पुर्याउँछ, जसले गर्दा अण्डालाई निषेचन गर्नको लागि उपलब्ध शुक्राणुको संख्या बढ्छ र गर्भाधानको सम्भावना बढ्दछ।
IUI प्रक्रिया बढी उमेर भएको र गर्भनली बन्द भएको अवस्थामा प्रयोग गरिँदैन किनकि यो प्रक्रियामा शुक्राणुले बाक्लो Cervical Mucus को बाधा पार गरे पनि शुक्रकीट अण्डालाई भेट्न प्राकृतिक रूपमा गर्भनलीतिर तैरिनु पर्छ र डिम्बसँग निषेचन गर्नुपर्छ। यी कारणहरूले गर्दा IUI को सफलता दर १० - ३० प्रतिशत छ।
IVF (In Vitro Fertilisation):
यो प्रक्रिया अन्तर्गत महिलाको शरीर बाहिर नै अण्डाको निषेचन गरिन्छ। सर्वप्रथम, यस प्रक्रियामा महिलाको डिम्बाशयमा धेरै अण्डा उत्पादन गर्न औषधि दिइन्छ। IVF को समयमा, परिपक्व अण्डाहरू डिम्बाशयबाट सङ्कलन गरिन्छ र प्रयोगशालामा शुक्राणुद्वारा निषेचित गरिन्छ। त्यसपछि निषेचित अण्डा (भ्रूण) पाठेघरमा स्थानान्तरण गरिन्छ। IVF को एक पूर्ण चक्रको अवधि लगभग तीन हप्ताको हुन्छ। कहिलेकाहीँ यी चरणहरू विभिन्न भागहरूमा विभाजित हुन्छन् र प्रक्रियाले लामो समय लिन सक्छ। IVF सहायक प्रजनन प्रविधिको सबैभन्दा प्रभावकारी रूप हो। यो प्रक्रिया एक दम्पतीको आफ्नै अण्डा र शुक्राणु प्रयोग गरेर गरिन्छ। दम्पतीको आफ्नै अण्डा वा शुक्राणु गर्भाधानको लागि उचित नभएको खण्डमा IVF मा ज्ञात वा अज्ञात दाताबाट (Donor) अण्डा, शुक्राणु वा भ्रूण समावेश हुन सक्छ। तर Donor को अण्डा वा शुक्राणु दम्पतीको सहमतिमा तथा अस्पतालको निगरानी र उचित परीक्षण गरेर मात्र प्रयोग गरिन्छ। IVF विधिबाट स्वस्थ बच्चा जन्माउने सम्भावना धेरै कारकहरूमा निर्भर हुन्छ, जस्तै तपाईंको उमेर र बाँझोपनको कारण। यदि एक भन्दा बढी भ्रूण पाठेघरमा स्थानान्तरण गरिएको छ भने, IVF मा जुम्ल्याहा सन्तानको प्राप्ति हुन सक्छ।
अन्तर्राष्ट्रिय रूपमा IVF को सफलता दर ३० – ३५% मात्र सफल हुन्छ तर नेपालको सन्दर्भमा एकपटकमा २ वटा भ्रूण हालिने भएकोले यसको सफलता दर ५० – ६०% सम्म भएको पाइन्छ।
निसन्तान सम्बन्धी समस्याको उपचार गर्दा शारीरिक क्षमता, उमेर, प्रजनन प्रणालीको स्वास्थ्यको उचित परीक्षण गरेर मात्र गरिन्छ। यस कारण उपयुक्त समयमा उपयुक्त परीक्षणका साथ गरिएको उपचार सफल हुने सम्भावना उच्च हुन्छ।