दम्पतीले IVF गर्नुको कारणहरू ?
बाँझोपनको समस्या हरेक दम्पतीको लागि निकै असहज हुन्छ। व्यक्तिगत चाहना पूरा नहुने दुःखको अतिरिक्त पारिवारिक र सामाजिक दबाबले दम्पतीको सन्तान प्राप्तिको सपनालाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ। दम्पतीमा बाँझोपनको सही उपचार गरी सन्तानको रहर पूरा गर्न सकिन्छ भन्ने बोध भए, उचित उपचार पद्धति मार्फत उपचार प्रक्रिया सहज रुपमा सफल पार्न सकिन्छ।
नि:सन्तानको उपचारमा सबै अवस्थामा IVF विधिको अवलम्बन गरिँदैन। कैयौँ सन्दर्भमा समस्या बमोजिम सामान्य औषधिले वा ICSI, IUI जस्ता कृत्रिम विधिलाई अपनाउने गरिन्छ। त्यसैले उपचार गराउने मनस्थिति बनाउँदा एकै प्रक्रियाले (जस्तै IVF) सन्तानको प्राप्ति हुन्छ भन्ने अवधारणाबाट मुक्त भएर चिकित्सकलाई समस्या बारे खुलस्त पार्नुपर्छ। कृत्रिम साधनहरू मध्ये IVF लाई सबैभन्दा सुरक्षित, भरपर्दो र सफल विधि मानिन्छ। त्यसैले बाँझोपनको समस्यामा सामान्य उपचारले निको पार्न सक्ने अवस्था नहुँदा IVF लाई नै प्राथमिकतामा राखिन्छ।
दम्पतीले IVF गर्नुको कारणहरू?
१. Fallopian Tube बन्द भएर देखिएको बाँझोपन:
Fallopian Tube को आंशिक वा पूर्ण अवरोध नि:सन्तानको सबैभन्दा सामान्य कारणहरू मध्ये एक हो। IVF प्रक्रियाको अनुसन्धान र सुरुवात गर्नुको उद्देश्य नै यही थियो कि Fallopian Tube बन्द भएका महिलाहरू पनि गर्भवती भई स्वस्थ सन्तान जन्माउन सकुन्। थप, IVF प्रक्रियामा भ्रूणलाई सिधै पाठेघरमा राखिने भएकाले यो प्रक्रियाले अवरुद्ध भएका Tube हरूलाई छल्ने काम गर्छ। अण्डाको निषेचन र भ्रूणको प्रारम्भिक विकास प्रयोगशालामा नियन्त्रित वातावरणमा हुने भएकाले सन्तानको उचित स्वास्थ्य सुनिश्चित रहन्छ। यस कारण, Tubal Blockage का कारण देखिने बाँझोपनमा IVF लाई पहिलो प्राथमिकतामा राखिन्छ।
२. पुरुषको कारणले हुने बाँझोपन:
शुक्राणु सङ्ख्यामा असामान्यता वा कम शुक्रकीट सङ्ख्या नि:सन्तानको दोस्रो सबैभन्दा सामान्य कारण मानिन्छ। जब एक पुरुषको प्रजनन समस्याको निदान गरिन्छ, उपचारको विकल्प धेरै हदसम्म समस्याको गम्भीरतामा निर्भर गर्दछ। त्यस्ता अवस्थाहरूमा सबैभन्दा सामान्य उपचार प्रक्रियामा सानो क्याथेटर प्रयोग गरेर शुक्राणुलाई सीधा गर्भाशयमा राखी महिलालाई गर्भवती बनाइन्छ। यस प्रक्रियालाई ICSI भनिन्छ। अधिक गम्भीर अवस्थामा, जब शुक्राणु गणना, गतिशीलता, वा आकार असामान्य छ, IVF एक मात्र विकल्प हो। IVF प्रक्रियामा शुक्रकीटको गुण अत्यन्तै कमजोर हुँदा पनि निषेचन गर्न अनुमति दिइन्छ जसले पुरुष सम्बन्धी बाँझोपनको उपचारमा क्रान्तिकारी परिवर्तन गरेको छ।
३. उमेर-सम्बन्धित बाँझोपन:
महिलाको उमेर बढ्दै जाँदा गर्भवती हुने सम्भावना पनि कम हुँदै जान्छ। महिला ३५ वर्ष पुगेपछि गर्भावस्थाको तयारी गर्दा भ्रूणको प्राप्ति नहुन सक्छ। किनकि उक्त उमेरमा अण्डाको गुणस्तर ह्वात्तै घट्छ र गर्भपात वा जन्म दोषको जोखिम पनि बढ्छ। त्यस कारण, बाँझोपनसँग लडिरहेका ३५ वर्षभन्दा माथिका महिलाहरूको उपचार गर्दा, डाक्टरहरूले प्रायः IVF लाई सबैभन्दा व्यवहार्य अण्डा र भ्रूणहरू चयन गर्न सिफारिस गर्छन्। तर दम्पतीले Donor को अण्डा वा शुक्रकीटको प्रयोग गर्न नचाहेमा, आफ्नै अण्डा वा शुक्रकीटबाट प्रयास गर्न सकिन्छ। महिलामा Ovaries को सङ्ख्या र परिपक्वताको वृद्धि गर्ने र पुरुषमा शुक्राणुको गुणस्तर वृद्धि गर्ने औषधि दिएर, महिलाको महिनावारी चक्र बमोजिम अण्डा झिकेर निषेचन गरिन्छ। उमेर यदि धेरै भएको अवस्थामा अण्डालाई बाहिरी सतहबाट बाहिर आउन सहज बनाउन Laser Assisted Hatching को पनि आवश्यकता पर्न सक्छ।
४. असामान्य Chromosome वा अन्य आनुवंशिक समस्याका कारण हुने बाँझोपन:
कतिपय अवस्थामा शारीरिक अवस्था पूर्णत: स्वस्थ रहे पनि Chromosome को संख्या वा संरचना असामान्य देखिएमा गर्भाधान हुँदैन। यस्तो अवस्थामा PGD (Preimplantation Genetic Diagnosis) मार्फत् भ्रूणको आनुवंशिक विशेषताको परीक्षण गरी सामान्य देखिएका भ्रूणहरू मात्रै स्थानान्तरण गरिन्छ। यो समस्या देखिँदा सफल रूपमा गर्भ धारण गर्ने एक मात्र उपाय IVF हो।
५. बारम्बार गर्भपातको समस्या:
निकै सामान्य कारणहरूले पनि महिलाको गर्भधारणमा प्रभाव परिरहेको हुन्छ। दम्पतीको (विशेषत: महिलाको) जीवनशैली र सामान्य खानपिनले गर्भको अवस्था र आउने सन्तानको शारीरिक र मानसिक बनोटलाई निर्धारण गर्दछ। त्यसैले, आफ्नो दैनिकीमा आइपर्ने सामान्य स्वास्थ्य समस्या पनि भ्रूणका लागि प्रतिकूल बन्न सक्छ। हामी आफ्नो स्वास्थ्य प्रति सचेत र सजग हुन सकेनौँ भने सन्तान खेर जान्छ। धेरै महिलामा सामान्य कारणवश गर्भपातको समस्या देखिन्छ तर बारम्बार सन्तान खेर जाने समस्या देखिएको खण्डमा भने शरीरमा केही Disorder वा रोग हुन सक्छ। फलत: महिला सहज रूपमा गर्भवती भए पनि सन्तान पाठेघरमा हुर्किन सक्दैन। यो अवस्थामा IVF सन्तान प्राप्तिको सहयोगी साधन बन्न सक्छ। किनकि IVF प्रक्रियामा शारीरिक जटिलताले असर पारेका भ्रूणहरूलाई अलग पारी स्वस्थ भ्रूणको मात्र प्रत्यारोपण गरिन्छ। जसका कारण महिलाको सफल गर्भ अवधि सुनिश्चित रहनुका साथै दम्पतीको घरमा स्वस्थ सन्तानको आगमन हुन्छ।
६. भ्रूणको Freezing गरी ढिलो बच्चा जन्माउने दम्पतीको चाहना
सबै दम्पतीले आफ्नो जीवनको कुनै क्षणमा सन्तानको प्राप्ति होस् भन्ने सपना देखेका हुन्छन्। तर सबैले एकै समयमा वा एउटै उमेरमा सन्तानको योजना बनाउँदैनन्। कतिपय दम्पतीले आफ्नो पढाइ वा पेशालाई मुख्य प्राथमिकतामा राखी सन्तानको योजनालाई स्थगित गरेका हुन्छन् भने कतिपयले एक सन्तानको प्राप्तिपछि केही वर्षको अन्तरालमा सन्तान प्राप्तिको योजना बनाएका हुन्छन्। यस्तो अवस्थामा IVF प्रक्रिया निकै सहयोगी सावित भएको छ। Embryo Freezing मार्फत् आफूले चाहेको बेलामा गर्भाधान गर्न सकिने भएकाले यसले दम्पतीको निजी प्राथमिकताहरू पूरा गरेर मात्रै सन्तान जन्माउने योजनालाई मूर्त रूप दिईरहेको छ। यसरी जन्मिएका सन्तान अरू सरह नै स्वस्थ हुन्छन् र दम्पतीले आफ्नो समय योजना बमोजिम घरमा सन्तान भित्राउने मौका पाउने हुँदा, यो प्रविधि सबैका लागि उपयोगी बनेको छ।