Way to IVF Success

IVF को सफलता बढाउने उपायहरु

कसरी IVF को सफलता दर बढाउने?


साधरणतया ८ मध्ये १ दम्पतीमा बाँझोपनको समस्या हुन्छ। बाँझोपनको समस्या हुँदा धेरैजसो दम्पतीले उपचारको खोजी गर्दछन् जसमध्ये केहीले शारीरिक अवस्था अनुसार Assisted Reproductive Technology को मद्दतले सन्तान प्राप्तिको सपना पूरा गरेका हुन्छन्। Assisted Reproductive Technology मध्ये सबैभन्दा प्रचलित र सफल विधि IVF (In Vitro Fertilization) हो। IVF प्रक्रियामा महिलाको डिम्बाशयबाट अण्डाहरू निकाली प्रयोगशालामा शुक्रकीटद्वारा निषेचन गरी भ्रूण तयार गरिन्छ। त्यसपछि २-३ दिनको निगरानी पश्चात् भ्रूण महिलाको पाठेघरमा राखिन्छ। 
यदि तपाई IVF को प्रक्रियामा जाँदै हुनुहुन्छ भने, तपाईमा IVF को बारेमा राम्रा विचारहरू मात्र नभई सत्य तथ्यको जिज्ञासा पक्कै पनि हुन्छ। समय, लागत र परिश्रमको ठुलो लगानी रहने यस प्रक्रियामा जाँदा जो कोहीलाई पनि यसबारे सम्पूर्ण सत्य जानकारीको जिज्ञासा हुन्छ। IVF को सफलता दर भनेको के हो? सफलता दर बढाउन हामी व्यक्तिगत रूपमा थप प्रयत्न गर्न सक्छौँ कि सक्दैनौँ? हाम्रो दैनिक जीवनशैलीले पनि IVF को सफलता दरलाई प्रभाव पार्छ कि पार्दैन?  तल यसैबारे हामीले बिस्तारमा चर्चा गरेका छौं । 
IVF को सफलता दर सम्बन्धी केही तथ्याङ्क:

SART (Society of Assisted Reproductive Technology) अनुसार विभिन्न उमेर समूहका दम्पतीद्वारा, सन् २०२० मा IVF मार्फत जन्मिएका जीवित सन्तानहरूको सफलता प्रतिशत:

३५ वर्ष मुनि: ४४.६%
३५-३७ वर्ष: ३१.५%
३८-४० वर्ष: १९.९%
४१-४२ वर्ष: ९.७%
४२ वर्ष बढी: २.९%

यसरी हेर्दा बाँझोपनको कारण र IVF को सफलतामा उमेर नै प्रमुख कारक हो। तर बढी उमेरका कारणले नै IVF प्रक्रियाबाट पछि हट्न आवश्यक पर्दैन किनकि बढी उमेर भएकालाई अन्य अतिरिक्त प्रक्रियाको (जस्तै Laser Assisted Hatching ) प्रयोगले सफलता दर बढाउन सकिन्छ।

Nepal Journal Of Obstetrics and Gynaecology ले २०२२ मा प्रकाशित गरेको एक जर्नल अनुसार नेपालमा भ्रूण स्थानान्तरणको लागि गरिएको ७६८ ART चक्रहरूलाई विश्लेषण गर्दा, ६९.६% अटोलोगस चक्रहरू थिए जसमा oocyte प्राप्त गरिएको चक्रहरू (२२.०%) र भ्रूण प्राप्त गरिएको चक्रहरू (८.४%) थिए। लगभग ८८.७% चक्रमा Fresh भ्रूणको स्थानान्तरण गरिएको थियो भने ११.३% चक्रमा Frozen भ्रूणको स्थानान्तरण गरिएको थियो। समग्रमा उक्त अनुसन्धानले Preclinical गर्भावस्था दर, Clinical गर्भावस्था दर र प्रत्यक्ष जन्म दर क्रमशः ४८.४%, ४३.३% र ३३.३% देखाएको छ।

कसरी IVF को सफलता दर बढाउने?

यदि तपाई IVF को विधि अपनाएर समयमा गर्भधारणको सम्भावना बढाउन खोज्दै हुनुहुन्छ भने, तल दिइएका सुझावहरूको पालना गर्न सक्नुहुन्छ।

१.शरीरको स्वस्थ तौल कायम गर्ने:

प्रजनन क्षमता र IVF मा स्वस्थ तौल कायम राख्नु अत्यन्तै महत्त्वपूर्ण छ किनकि अनुसन्धानको बमोजिम मोटो (BMI>35) र कम तौल (BMI <19) ले IVF सफलता दरलाई असर गर्छ। अधिक वजनले IVF को समयमा डिम्बाशयको निगरानीलाई अझ गाह्रो बनाउँछ र अण्डा पुन: प्राप्तिको क्रममा जटिलताहरूको सम्भावना बढाउँछ।

एक स्वस्थ तौल प्राप्त गर्न आहार र गतिविधिमा परिवर्तनहरू गर्न सकिन्छ। यदि सामान्य परिवर्तनले तौल स्वस्थ अवस्थामा कायम हुन नसके आहार विशेषज्ञहरू र अस्पतालको Cardio Metabolic तौल घटाउने कार्यक्रम मार्फत शरीरको स्वास्थ्य अवस्था हेरी तौलको लक्ष्यसम्म पुग्न सकिन्छ। 

२. शुक्राणु स्वास्थ्य अनुकूलन:

मल्टिभिटामिनपयुक्त आहारको सेवन र शरीरको तौल कायमले शुक्रकीटको गुणस्तर सुधार गर्न सकिन्छ। हस्पिटलको उचित निगरानीमा पुरुषहरूले शुक्रकीट सङ्ख्या र गुणस्तर बढाउन मद्दत गर्न सक्ने औषधिहरू पनि सुरु गर्न सक्छन् जसले IVF परिणाममा लाभकारी प्रभाव पारेको हुन्छ। वीर्यको राम्रो गुणस्तर रहेमा स्वस्थ र आनुवंशिक रूपमा परिपक्व सन्तानको आगमन हुन्छ।

३. उत्कृष्ट प्रजनन विशेषज्ञ र आधुनिक सुविधायुक्त प्रयोगशालाको छनोट:

उत्कृष्ट प्रजनन विशेषज्ञ र प्रयोगशाला छनोट गर्ने मुख्यतः दुई आधारहरू छन्। 
• आधुनिक उपचार प्रविधिको उपलब्धता भएको हस्पिटलमा अनुभव प्राप्त साथै निष्ठावान् चिकित्सकहरू  उपस्थित रहेमा बाँझोपनको समस्या भोगिरहेका दम्पतीले उपचारको सफलता दर बढ्ने प्रत्याभूति गर्न सक्छन्। 
• दम्पतीले भोगेका बाँझोपन सम्बन्धी भावनात्मक वेदनाहरू सहज रूपमा खुलाउन सक्ने वातावरणको निर्माण गर्नु सम्बन्धित हस्पिटलको दायित्व हो। IVF प्रक्रियामा मानसिक स्वास्थ्यलाई समेत प्राथमिकता दिने हस्पिटलहरू प्राय: IVF गराउन इच्छुक दम्पतीको रोजाइमा पर्दछ।
यी दुई आधारहरू मार्फत आफ्ना लागि क्लिनिकको छनोट गर्दा IVF (र अन्य बाँझोपन सम्बन्धी उपचार) सफल हुने सम्भावना धेरै हुन्छ। 

४. तनाव व्यवस्थापन:

अत्यन्त बढी तनावले प्राकृतिक र सहयोगी गर्भाधान दरलाई असर गर्दछ। उपचार अवधिको शारीरिक र मानसिक तनाव साथै आर्थिक अवस्थाको तनावका कारण बाँझोपन र त्यस सम्बन्धित उपचार जटिल हुन सक्छ। तर यो समस्या भोग्ने तपाई एक्लै हुनुहुन्न भनेर बुझ्न जरुरी छ। IVF Implantation पछिको प्रतीक्षा चरणको समयमा तनाव कम गर्नु दम्पतीहरूका लागि सबैभन्दा कठिन समस्याहरू मध्ये एक हो। तनावको स्तर कम रहेको अवस्था नै महिला शरीरको लागि गर्भधारणको निम्ति अनुकूल समय हो। त्यसैले तनाव व्यवस्थापन गर्दै मानसिक स्वास्थ्यको ख्याल राख्नाले IVF को सफलता दर बढाउन सकिन्छ। 

५. धूम्रपानको लतबाट मुक्ति:

दम्पतीमा (महिला वा पुरुष वा दुवै) धूम्रपानको लत हुँदा IVF गर्नाले सफलताको सम्भावना एकदमै कम हुन्छ किनभने यसले अण्डा र शुक्रकीटको गुणस्तरलाई प्रत्यक्ष रूपमा असर पुर्‍याउँछ। धूम्रपानको नकारात्मक असरहरूबाट चिरपरिचित भए तापनि धूम्रपान छोड्नु सजिलो काम होइन र प्रायः व्यक्तिगत र व्यावसायिक रूपमा ठुलो सम्झौताको आवश्यकता पर्दछ। तपाईलाई लतबाट मुक्त हुनको लागि प्रोत्साहन गर्नका लागि आफ्ना साथीहरू र परिवारलाई समावेश गर्ने प्रयास गर्न सक्नुहुन्छ। विश्वव्यापी रूपमा धूम्रपान छाड्नका लागि, संरचित कार्यक्रम वा औषधीय सहयोग सबैभन्दा सफल प्रमाणित भएको छ। 

६. Supplements को सेवन (चिकित्सकको सिफारिसमा मात्र): 

DHEA र CoQ10 Supplements ले अण्डाको मात्रा र गुणस्तरमा वृद्धि हुने देखाएको छ। यस्ता Supplements को प्रयोग गर्नाले प्रजनन क्षमतामा वृद्धि हुन्छ साथै IVF सफलताको सम्भावना बढ्दछ। थप, मल्टिभिटामिन पनि उपयोगी हुन सक्छ।

७. शरीरमा भिटामिन “डि” को सही मात्रा कायम:

BMC Public Health ले प्रकाशित गरेको एक रिपोर्ट अनुसार दक्षिण एसियाली मुलुकहरूमा करिब ५० प्रतिशत जनसङ्ख्यामा भिटामिन “डि”को कमी छ। त्यसैले नि:सन्तानको उपचार प्रक्रियामा भिटामिन “डि”को मात्रा परीक्षण गराई कम देखिएमा भिटामिन “डि” बढाउने पूरक (Supplements) लिनुपर्छ। भिटामिन “डि” पाइने प्राकृतिक आहारको उचित सेवन गर्नाले पनि IVF को प्रक्रियामा सहयोग मिल्छ। 

८. दृढता र धैर्यता:

विश्वव्यापी रूपमा धेरै दम्पतीहरूलाई सफल स्थानान्तरणको लागि भ्रूण प्राप्त गर्न IVF को एक भन्दा बढी चक्रको आवश्यकता पर्छ साथै परिणामहरू हरेक चक्रमा एकदम फरक फरक आउन सक्छ। यदि तपाईको पहिलो चक्र असफल भए, चिकित्सक मार्फत असफल चक्रमा शरीरको अवस्था कस्तो थियो थाहा पाई उक्त अवस्था फेरी नदोहोरिन औषधिहरूलाई समायोजन गरी नयाँ चक्रको तयारी गर्न सक्नुहुन्छ। दुई चक्रको बिचमा आफूले चाहे जति विश्राम लिन सक्नुहुन्छ। IVF प्रक्रियामा देखिने असफलताले हतोत्साहित नहुनुहोस् किनकि यो प्रक्रियामा सबैभन्दा ठुलो कुरा यो हो कि IVF मा धेरैजसो कुरा (वा सबै) तपाईको नियन्त्रणभन्दा बाहिर छ। आफ्नो अधिक समय,  परिश्रम र आय खर्चेपछि पनि IVF को नतिजा आफ्नो नियन्त्रणमा नरहनु दम्पतीको लागि दुखद हुन सक्छ तर IVF प्रक्रियामा याद राख्नुपर्ने कुरा यही हो कि आफ्नो ख्याल राख्नुहोस् र खोजेको नतिजा नपाउँदा आफूलाई दोष नदिनुहोस्। तपाई एक्लै हुनुहुन्न। 
दृढता र धैर्यता कायम राख्न सक्नु भनेको IVF ले निम्त्याउन सक्ने मानसिक चुनौतीहरूसँग जुध्न सक्षम हुनु हो। यसले अवश्य पनि दम्पतीहरूलाई “सानो परिवार, सुखी परिवार” को सपनाको निकट पुर्‍याउँछ। आशा र भरोसा राखौँ, यसैमा संसार अडिएको छ।